सप्तकोशीले कटान गरेको स्थानमा गृहमन्त्री खाँडले गरे अवलोकन

उदयपुर ।
गृहमन्त्री बालकृष्ण खाँडले सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रमा थप कटान हुन नदिन रोकथामका कामहरु गर्न निर्देशन दिएका छन् । उच्च जोखिममा रहेको सो क्षेत्रको अवलोकन पछि गृहमन्त्री खाँडले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिलाई गम्भीर भएर काम गर्न भनेका हुन ।

केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो ।
सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ । धेरै कटान हुँदा कोशीले धार परिवर्तन गरी वेलकाको वडा नम्बर २, ३, ८ र ९ का तटीय क्षेत्रमा रहेको वस्ती डुबानमा पर्ने जोखिम थियो । त्यस क्षेत्रमा करिब ८ सय घरधुरीको बसोबास रहेको छ ।