भदौ २३ गतेका लागि सङ्घीय संसदको बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधवारको लागि सङ्घीय संसदको बैठक आह्वान गर्नुभएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको हो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ ।
संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलका शीर्ष नेताबीच छलफल भएको थियो ।
संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।
त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।
त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।