शुक्रबार ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार ४१ जिल्लामा वडा अधिवेशन भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ४१ जिल्लामा मात्रै अधिवेशन भएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले शुक्रबार साँझसम्म ४१ जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी दिए ।

समिति सदस्य पोखरेलका अनुसार शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, मकवानपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, बागलुङ, मनाङ, पर्वत, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, ललितपुर, रुपन्देही, अर्घाखाँची, गुल्मी, जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, कालिकोट, अछाम, कञ्चनपुर, झापा, पूर्वी रुकुम र पश्चिम रुकुममा वडा अधिवेशन भएको छ ।

शुक्रबार अधिवेशन हुन नसकेका २१ जिल्लामा भने कहिले अधिवेशन हुने भन्ने निश्चित भएको छैन । काठमाडौंसहित २१ जिल्लाको क्रियाशील सदस्यता टुंगो नलागेका कारण अधिवेशन रोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ ।

केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने गरी कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ३० को बैठकले कार्यतालिका सार्वजनिक गरेको हो ।