विराटनगरमा निकालिने राधाकृष्णको रथयात्रा आज

बिराटनगर ।
मोरङको विराटनगरमा निकालिने भगवान राधाकृष्णको रथयात्रा आज । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगर परिक्रमा गरिने भएको छ ।

श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथयात्रा गाडीमा राखेर नगर परिक्रमा गरिने जानकारी दिए । ९०औं संस्करणको राधाकृष्ण रथयात्रा विराटनगरमा मंगलबार निकालिँदैछ ।
यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट शुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी र पुष्पलाल चोकको परिक्रमापछि पुनः मन्दिरमा पुग्ने बताइएको छ ।
वि. सं. १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)को रुपमा शुरु भएको यात्रा २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो ।