स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित हुँदा अरु सङ्क्रामक रोगजस्तै स्क्रब टाइफसको जोखिम बढ्दै गएको हो ।
अहिले बर्खाको समय भएकाले देशका धेरै ठाउँमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । तर, उनीहरुले समयमै परीक्षण नगर्ने गरेको पाइएको छ । स्क्रब टाइफस र कोरोनाको लक्षण लगभग उस्तै हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, झाडापखाला लाग्नु तथा श्वासप्रश्वासमा समस्या हुनु स्क्रब टाइफस र कोरोना दुवैका लक्षण हुन् ।
यस्ता लक्षण देखिए पछि धेरैजसो बिरामीले कोरोनाको मात्रै परीक्षण गर्ने गरेका छन् । यसले गर्दा बिरामीको ज्यान जाने जोखिम बढेको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
समयमा नै उपचार नपाए स्क्रब टाइफस भएका बिरामीको ज्यानै जाने डाक्टर पुनले बताउनुभयो । असार, साउन र भदौ महिनामा स्क्रब टाइफसको जोखिम धेरै हुन्छ । मुसामा पाइने किर्ना जस्तो सुक्ष्म किराको टोकाइबाट मानिसमा स्क्रब टाइफस देखा पर्छ ।
मुसाको कानमा हुने परजीवी झाडीमा खस्ने हुँदा झाडी तथा खेतीपातीमा काम गर्नेहरुलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाए, र घरपर सफा राखे स्क्रब टाइफसबाट जोगिन सकिने डाक्टरले बताएका छन् ।