बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलिया पक्राउ

बिराटनगर । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलिया पक्राउ परेका छन । उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले दिएको जानकारी अनुसार नोबेलबाट सात र कोसी अस्पतालबाट तीन जना विचौलिया पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा विराटनगरको नोबेल शिक्षण अस्पतालनजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का सुजित यादव र विराटनगर–५ का समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर–५ का फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर–५ कासरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का अमित यादव छन् ।
कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी–६ का श्रीराम चौधरी, मोरङको कटहरी–३ का मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा–२ कासूर्यनारायण यादव पनि पक्राउ परेका छन् ।

उपचारका लागि अस्पतालमा आएका विरामीलाई राम्रो सेवा नदिने र डाक्टर पनि राम्रो नभएको भन्दै उनिहरुले क्लिनिकमा लैजाने गरेका थिए ।
कमिसन पाउने भएकाले बिचौलियाले आफ्नो सम्पर्कमा भएका क्लिनिकमा लगेर उपचार गराउन लगाउने र फार्मेसीमा महँगो मूल्य तिराएर औषधि किनाउने गरेको देखिएपछि पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।