कोरोना सङ्क्रमण भन्दा निको हुनेको सङ्ख्या बढ्दै

बेलबारी । नेपालमा पछिल्लो दुई दिनलाई हेर्दा कोरोना संक्रमण संख्या भन्दा निको हुनेको सङ्ख्या बढी देखिन्छ । लामो समयपछि शनिवार निको हुनेको सङ्ख्या बढी भएकोमा आइतवार पनि निको हुनेको सङ्ख्या बढी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार साँझ मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४८ जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९८ हजार एक सय ७३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ४३ जनाको पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन गरी १२ हजार पाँच सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि हो ।
२४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये १५ दशमलव ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय नौ पुगेको छ ।
अहिले नेपालमा ३८ हजार सात सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।