बेलबारी बोयर काण्ड छानविन समितले प्रतिवेदन बुझायो : चाँडै सार्वजनिक गर्ने मेयर सुवेदीको प्रतिवद्धता


बेलबारी बोयर काण्डको विषयमा छानविन गर्न गठित समितिले आइतबार बेलबारी नगरपालिकालाई प्रतिवेदन बुझाएको छ । बेलबारी नगरपालिकाले गठन गरेको बेलबारी बोयर बाख्रा छानबिन समितिले २ महिनापछि आईतबार साँझ प्रतिबेदन बुझाएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई समिति संयोजक बिन्दुकला गुरुङ सहित समितिका सदस्य एवम् प्रवक्ता राजेन्द्र अधिकारी,सदस्यहरु किशोर भण्डारी, केशव थापा मगर समेतले प्रतिवेदन बुझाएका थिए । समितिले तयार पारेको प्रतिवेदन लाहाछाप सिलबन्दी सहित बुझाइएको थियो ।
अष्ट्रेयलियाबाटै ल्याएर शतप्रतिशत शुद्ध बोयर बोकापाठी बेलबारीका किसानलाई वितरण गरेको भनी प्रचार गरिएपनि गुणस्तर र मापदण्ड अनुसारको नभएपछि अनियमितताको प्रश्न उठेको थियो । १ करोड २४ लाख रुपैयाँ बजेटको बोयर बोकापाठी वितरण कार्यक्रम अन्तर्गत गएको जेष्ठ १५ गते वितरण गरिएको थियो । वितरित बोयर बोकापाठीका विषयमा तिब्र विरोध भएपछि नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । गत असार ५ गतेबाट कार्य प्रारम्भ गरेको समितिमा नेपाली कांग्रेसका राजेन्द्र अधिकारी,माओवादी केन्द्रका किशोर भण्डारी र जनता समाजवादी पार्टीका केशव थापामगर सदस्य रहेका थिए ।
२ महिनासम्म लगाएर तयार पारिएको सो प्रतिवेदन १ सय ६० पृष्ठको रहेको र १५ दफा तथा ४५ अनुसुची समावेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । छानविनका क्रममा सकेसम्म यथार्थ पत्ता लगाउन कडा परिश्रम र मेहनत गरिएको अधिकारीले जानकारी दिएका छन् । यथार्थ र विषय सम्बन्धित क्षेत्रमा मात्रै रहेर तर गहिराइमा गएरै अध्ययन अनुसन्धान गरिएको अधिकारीले जानकारी दिए ।
समिति संयोजक विन्दुकला गूरुङले पनि आफुहरुले पाएको जिम्मेवारी इमान्दार ढंगले पुरा गरेको भन्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद दिइन् । समितिले सो प्रतिवेदन सकेसम्म चाँडै र आफैले सार्वजनिक गर्ने गरी वातावरण तयार गर्न नगरपालिकालाई आग्रह गरेको छ । कार्यक्रममा सहभागी राजनितिक दलका प्रतिनिधिले पनि ढिला हुँदा विभिन्न प्रश्न उठ्न सक्ने भन्दै चाँडै प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका छन् ।
उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र बेलबारी नगर अध्यक्ष पर्शुराम सुवेदी,नेपाली काँग्रेस सभापति शम्भु भट्टराई,जनता समाजवादीका कमलबहादुर गुरुङ,बेलबारी नगरपालिकाका प्रवक्त्ता योगेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
नगरप्रमुख सुवेदीले पनि कार्यपालिकाको बैठकमा छलफल गरी आवश्यक निर्णय गरेर चाँडै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ढिला गरी गठन गरिएको छानविन समिति र समितिले सुरुमा तोकिएको समयभन्दा निकै धेरै समय खर्चिएर तयार गरेको प्रतिवेदनको निष्कर्ष के छ ? भन्ने कुरा बाहिर आएको छैन् । छानविन समितिले प्रतिवेदनलाई जतिसक्दो चाँडो सबैमाझ ल्याउने अग्रसरता देखाएको छ । तर बेलबारी नगरपालिकाले प्रतिवेदन वाहिर ल्याउँछ वा ल्याउँदैन ? प्रश्नकै रुपमा रहेको छ ।