नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा वरियताको १ सय १ औँ स्थानमा

नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको अगष्टको वरियतामा नेपाल एक सय एक स्थानमा रहेको छ । यसअघि जुनमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो ।

कोरोना महामारीका कारण महिला टोलीले पछिल्लो डेढ वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन । पछिल्लो पटक स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टोलीले रजत पदक जितेको थियो ।

अहिले भने महिला टोली एसिया कप छनोटको तयारीमा जुटेको छ । अर्को महिना उज्वेकिस्तानमा हुने छनोटअन्तर्गत नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता अर्को वर्ष भारतमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ ।