सुन्दरहरैंचामा आइतबार मध्यरातमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

विराटचोकः आइतबार राती पौने ११ बजे मोरङको सुन्दरहरैंचाको सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पूर्व पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ३७ प ८७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको कन्काई नगरपालिका वडा नम्बर ३ बस्ने ४४ वर्षीय पेशल केसी गम्भीर घाइते भएका थिए । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी ट्रकमा सवार सुनसरीको इटहरी– ९ का २१ वर्षीय एमडी डिष्टम र ४० वर्षीय मित्रलाल न्यौपाने सामान्य घाइते भई उपचारको लागि विराट नर्सिङ होम विराटनगर पठाइएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको छ ।