सवारी चालक लाइसेन्सको परीक्षा थप खुकुलो

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप खुकुलो बनाइएको छ । परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो ।
यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।

लिखित परीक्षाका लागि विभागको वेबसाइटमा प्रश्न राखिएको छ । वेबसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताउनुभयो । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ ।

पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।