नेपालको एएफसी महिला एसियन कप छनोटको पहिलो खेल फिलिपिन्ससँग

नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ ।

छनोटको समूह ‘एफ’ मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल १८ सेप्टेम्वरमा हुनेछ । हङकङविरुद्धको दोस्रो खेल २१ सेप्टेम्वरमा हुनेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल २४ सेप्टेम्वरमा हुनेछ ।

छनोटका सबै खेल उज्वेकिस्तान तासकेन्टस्थित जेएआर स्टेडियममा हुनेछ । यसअघि छनोटका खेल नेपालमा हुने भनेपनि कोरोना संक्रमणका कारण उज्बेकिस्तानमा सारिएको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुनेछ ।