फिफा वरियतामा नेपाल तीन स्थान माथि

फिफा वरियतामा नेपालले आफ्नो स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको हो ।

नयाँ वरियतामा नेपाल १६८ औं स्थानमा छ ।
मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ४ अंक थप्दै ९७२ बनाएको छ ।
यो बीचमा नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । यस्तै इराकसंग मैत्रीपूर्ण खेल पनि खेलेको थियो । चाइनिज ताइपेईलाई नेपालले हराएको थियो भने अरु संग पराजित भएको थियो ।

आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । दक्षिण एसियामा भारत सबैभन्दा अघि १०५ औं स्थानमा छ । यस्तै माल्दिभ्स १५८ औं स्थानमा झरेको छ ।
नेपाल भन्दा पछि रहेकामध्ये भुटान १८७ औं, बंगलादेश १८८ औं, पाकिस्तान १९८ औं र श्रींलका २०५ औं स्थानमा छ । पाकिस्तान अहिले फिफाको प्रतिबन्धमा रहेकाले अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन ।
यसैगरी विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ ।