जीवित हुँदै मृत्यु दर्ता गरेको ६ बर्ष पछि लक्ष्मीमार्गका एक ब्यक्तिले पाए नागरिकता

बेलबारी । जीवित हुँदै मृत्यु दर्ता गरेको ६ बर्ष पछि मोरङको बेलबारीका एक ब्यक्तिले नागरिकता पाएका छन । मोरङको बेलबारी ११ लक्ष्मीमार्गका सुभाष तामाङले आफ्नै मृत्युदर्ता भएको ६ बर्षपछि नागरिकता पाएका हुन ।

उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका छन् । निरौलाले मृत्युदर्ता हुनु अघि भोजपुरबाट बसाई सराई गरेर मोरङ आएको प्रमाणको आधारमा सुभाषको मृत्युदर्ता झुटो ठहर भएपछि नयाँ नागरिकता दिएका हुन् । उक्त निर्णयसँगै सुभाषलाई प्रजिअ निरौलाले जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०६० पुस २१ गते जारी भएको ४८४१–११–२५४४ नम्बरको पुरानै नागरिकताको नयाँ प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।

आफू जीवितै भएको प्रमाणसहित नागरिकता प्राप्त गर्न आफूले तीन वर्षसम्म धेरै हन्डर र दुःख भोग्नु परेको उनले सुनाए । नागरिकताका लागि स्थानीय तह र गृह मन्त्रालयसम्म पुगेको सम्झँदा त धेरै दुःख लागेको उनले बताए । ढिलै भए पनि नागरिकता पाएकोमा आफूलाई खुसी लागेको उनले जनाए ।

यो बीचमा पञ्जीकरणमा मृत्यु घोषित भइसकेका कारण उनलाई सरकारी कार्यालयबाट सेवा लिन समस्या भएको थियो ।
घटना यस्तो थियो
वैदेशिक राजगारीका लागि सुभाष साउदी अरब पुगेका थिए । २०७२ असार २५ गते सडक दुर्घटनामा उनको मृत्यु भएको खबर दूतावासमार्फत आएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका थिए । दुई मृतकमध्ये एकजना सुभाष नै भएको भन्दै उनी कार्यरत कम्पनीमार्फत शवलाई साउदीबाट नेपाल पठाइएको थियो ।

शव आएपछि परिवारका सदस्यले बुझेर परम्परा अनुसार दाहसंस्कार समेत गरेका थिए । तर सुभाषको भनिएको शव भने सोही दुर्घटनामा परेका बागलुङ जिल्लाको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको भएको पछि खुलेको थियो ।
त्यतिबेला भोजपुर जिल्लाको साविक कुदाकाउले गाविस–९ (हालको षडानन्दा नगरपालिका–२) मा रहेका परिवारले २०७२ साउन ६ गते सुभाषको मृत्यु दर्ता गरेका थिए । तर पछि उनी जीवितै रहेको खबर आएको थियो ।
घर परिवारले काजकिरिया समेत गरिसकेका कारण सुभाष साउदीबाट फर्किएपछि न्वारन लगायतका धार्मिक संस्कार पुनः दोहो¥याएर गरेका थिए । कुदाकाउलेबाट उनको परिवार बसाई सरेर मोरङको बेलबारी नगरपालिका–११ मा आएर बसेको थियो ।