मनसुन थप सक्रिय

मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ । यसले गर्दा बाढी पहरोको जोखिम भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद्ले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको बाढीको जोखिम रहेकाले नदीनाला र खहरे खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएका हुन् ।

आउँदो बुधवार–बिहीवारसम्म नै देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । यसकै कारण देशका सबैजसो क्षेत्रमा पानी पर्ने श्रेष्ठको भनाइ छ ।