कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ ।

केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ । शीर्ष तहमा सहमति जुटेपछि मात्रै केन्द्रीय समितिमा कार्यतालिका पेश हुनुपर्ने सुझाव संस्थापनइतर समूहको छ । केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महाधिवेशनको नयाँ कार्यतालिकामा सहमतिको प्रयास भइरहेको बताए ।

भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको थियो ।