एमालेले केन्द्रसहित प्रदेश सरकारको नेतृत्व गुमाउँदै, अब वाग्मती र प्रदेश–१ मात्र बाँकी

नेकपा एमालेले केन्द्रसहित प्रदेश सरकारको नेतृत्व गुमाउँदै गएको छ । नेकपा विभाजन र पार्टी भित्रको विवादका कारण केन्द्र सहित प्रदेश सरकारको समेत नेतृत्व गुमाउन थालेको हो ।

हिजो मात्रै लुम्बिनी प्रदेश सरकारको नेतृत्व गुमाएको एमालेले जेठमा गण्डकी प्रदेशको पनि नेतृत्व गुमाएको थियो । गएको जेठ २८ गते प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त हुनुभएको थियो । यस्तै गएको असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको थियो ।

योसँगै केन्द्र, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले विपक्षी कित्तामा पुगेको छ । यसअघि केन्द्र र चारवटा प्रदेशमा नेतृत्व गर्दै आएको एमालेको नेतृत्वमा अब वाग्मती प्रदेश र प्रदेश–१ मात्र बाँकी छ । दुवै प्रदेशमा माधव नेपाल समूह निर्णायक छ ।