एकै दिन झन्डै ५ हजारमा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा झन्डै पाँच हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार दुई सय १७ जनाको पीसीआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन गरी १९ हजार एक सय २३ जनाको परीक्षण गर्दा चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २५ दशमलव ६४ प्रतिशतमा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९१ हजार नौ सय १० जना पुगेको छ ।
यस्तै थप दुई हजार एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार एक सय ९८ पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप ३५ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ५० जना पुगेको छ ।
अहिले नेपालमा ३७ हजार तीन सय ३२ जना सक्रिय सङ्क्रमित रहेकोमा सात सय ७१ जनाको आईसीयू र एक सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।