एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप तत्कालका लागि स्थगित भएको हो ।

फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको छ । च्याम्पियनसिप फिलिपिन्सको क्लार्क र सेविकमा अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका थियो ।

च्याम्पियनसिपमा सुरुवातमा नेपालले पनि खेल्ने तय थियो । तर, नेपाल कोरोनाको रेड जोनमा रहेको भन्दै फिलिपिन्सले नेपाललाई बाहिर राख्दै च्याम्पियनसिपको समूह विभाजन र खेल तालिका सर्वाजनिक गरेको थियो । सुरुवातमा १७ राष्ट्र रहेपनि त्यसपछि ५ राष्ट्रले नाम फिर्ता लिदा १२ टोलीको सहभागिता रहने बताएको थियो । तर, अन्तिम समयमा कोरोनाका कारण ८ टोलीको मात्रै खेल्ने टुंगो लागेको थियो ।