साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

हाललाई प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले स्वास्थ्य मापदण्ड मध्यनजर गर्दै तालिकामा केहि फेरबदल हुन सक्ने बताए ।
साफमा ५ राष्ट्र सहभागी हुने भनिएपनि भुटानले समेत सहभागी हुने सम्भावना बढेको छ । भुटान सरकारले साफमा सहभागी हुन सकारात्मक छलफल गरेकाले ३ दिनमा भुटानले यकिन निर्णय दिने भएको छ । पाकिस्तान भने सहभागी हुने छैन ।
गत संस्करण बंगलादेशमा माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो ।
दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन ।