धरानः सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले धरानमा हुने उपनिर्वाचनको लागि सम्पूर्ण सुरक्षा निकाय धरान केन्द्रित हुने बताएका छन् ।
आइतबार धरानस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीसँगको छलफलमा उनले यस्तो बताएका हुन् । सबै ठाउँमा निर्वाचन नहुने भएकाले सबै सुरक्षा निकाय धरानमै केन्द्रित हुने उनले बताए । पछिसम्म स्मरणीय हुने गरीको निर्वाचन गरिने उनको भनाइ छ ।
आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सबै सुरक्षा निकाय परिचालन हुने उनले बताए । केही मतदान स्थललाई सुरक्षाको भौगोलिक अवस्थिति, मतदान केन्द्रको स्थिति, मतदाताको सङ्ख्याको आधार र केहीमा निर्वाचनविरोधी गतिविधि हुने आधारमा सुरक्षा निकायको व्यवस्था गरिने पनि उनले जनाए । उनले राजनीतिक दलहरूले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी आफ्ना गतिविधि सञ्चालन गर्न पनि आग्रह गरे ।