सागको टेलिभिजन प्रशारण अधिकार भारतीय मिडिया एनकेलाई

काठमाडौंः पहिलो दक्षिण एशियाली खेलकुद (साग) को आयोजना गरेको नेपालले सागको इतिहासमा अर्को कोसेढुङ्गा थपेको छ । नेपालमा हुने १३ औं सागबाट टेलिभिजन प्रशारण अधिकारसम्बन्धी सम्झौता गरिएको छ ।

पहिलोदेखि १२ औं सागसम्म टेलिभिजन प्रशारण अधिकार कसैलाई दिइएको थिए । सोमबार दक्षिण एशियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसँग टेलिभिजन सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ । एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रशारण अधिकारसम्बन्धी सम्झौता भएको हो ।

एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सीएमजी प्रभात रञ्जन मल्लिकले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रशारण अधिकारबापत उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्ने छ । त्यसबापत एनके मिडिया सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्ने छ । त्यसैगरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउने छ ।

एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजनमार्फत् सबैको खेलका प्रत्यक्ष प्रशारण गर्नेछ । यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्नेछ । एनके मिडियाले सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

त्यस्तै, एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच सम्झौता भएको छ । जसअनुसार एसएओसीले प्रशारण अधिकारी र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने छ । राखेप आफैँले ल्याउने विज्ञापनमा भने कसैको अधिकार हुने छैन ।