तीन दिन भित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने सहमति

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।

‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ ।’ संचारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिने क्रममा उनले भने, ‘यसले निरन्तरता पाउँछ र २÷ ३ दिनभित्र टुंगिन्छ ।’
बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिलेनै प्रभावित भईहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताए ।
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ ।