झापामा आजदेखि निषेधाज्ञा

झापामा आजदेखि सात दिनसम्म निषेधाज्ञा जारी भएको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको हो ।

प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिवार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ । झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए ।

जिल्लामा कोडिभ–१९ को सङ्क्रमणबाट ४४५ जनाको ज्यान गइसकेको छ । अहिले आइसोलेशनमा दुई हजार ४१३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो ।