कोरोनाविरुद्धको खोपसहित होटलबाट पक्राउ परेको घटनाको छानबिन गर्न समिति गठन

झापामा होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सो समिति गठन गरेको हो । बैठकले घटनाको निष्पक्ष छानबिन गरि प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिएको बताइएको छ ।