कांग्रेसको क्रियाशील सदस्यता छानबिन समतीले मंगलबार अन्तिम प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समतीले मंगलबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।
पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ ।
समिति प्रवक्ता प्रदीप पौडेलले मंगलबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने जानकारी दिए ।
समिति प्रवक्ता पौडेलका अनुसार देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिने प्रतिवेदनमा उल्लेख छ । कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुगेको छ । त्यसमध्ये करीब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ भने ३५ देखि ४० हजारले सदस्यता नवीकरण नगरेको समितिले जनाएको छ । विभिन्न देशमा रहेका कांग्रेस निकट जनसम्पर्क समितिको क्रियाशील सदस्यता सूची अझै समितिसँग आएको छैन ।
क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा कांग्रेस महाधिवशेन कार्यतालिका प्रभावित भइसकेको छ । १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित भइसकेको छ । कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । कांग्रेसको १४औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो ।