हत्या आरोपमा एक पक्राउ

झापामा हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गौरादह नगरपालिका वडा नम्बर ७ दुधाली बस्ने २५ वर्षीय सितकुमार ऋषिदेवलाई प्रहरीले हत्या गरेको आरोपमा शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनीमाथि सोही नगरको वडा ४ र १ बीचमा पर्ने गेउरिया खोलामा मृत फेला परेका पुरूषको हत्या गरेको आरोप छ ।
मृतक इटहरी उपमहानगरपालिकाका अन्दाजी ५५ वर्षीय टुनटुन ऋषिदेव थिए । उनी सो गाउँमा मागेर खाने र डुलेर हिँड्ने गरेको थापाले बताए ।
स्थानीयले उनको शव शुक्रबार बिहान १० बजे खोलामा फेला परेका थिए ।
प्रारम्भिक अनुसन्धान गर्दा बिहान करिब ९ बजे टुनटुन र सितकुमारबीच सामान्य विवाद भएको थियो । सोही विवादको क्रममा सितकुमारले टुनटुनलाई खोलाको डिलबाट धकेलेको प्रहरी नायब उपरीक्षक थापाले बताए । सो कुरा पत्ता लागेपछि प्रहरीले सितकुमारलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनले सामान्य विवाद हुँदा धकेलेको र खोलामा खसेर ननिस्किएपछि भागेको प्रहरी समक्ष बयान दिएका छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।