विवादित विषयमा जनमत सङ्ग्रहः विप्लप र कमल थापा

संसदीय व्यवस्था असफल सिद्ध भएको भन्दै विवादित विषयमा जनमत सङ्ग्रह गर्नुपर्नेमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा सहमत भएका छन ।
विप्लप र थापा बीच शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठमा भएको भेटवार्ताका क्रममा वर्तमान संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालिएको हो ।
राप्रपाले सङ्घीयता, धर्मनिरपेक्षता, राजतन्त्रलगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै आएको छ भने विप्लवले पनि वैधानिक समाजवादका लागि जनमत सङ्ग्रहमा जानुपर्ने बताउँदै आएका छन् । भेटमा विप्लवले अहिलेको व्यवस्थाले राजनीतिक निकास नदिने भन्दै जनमत सङ्ग्रहमा जानुपर्ने धारणा थापासँग राखेका थिए ।
भेटमा सहभागी राप्रपा नेता बुद्धिमान तामाङले अहिलेको व्यवस्थाप्रति विप्लवमा गम्भीर चिन्ता पाइएको र त्यसको निकासका लागि जनमत सङ्ग्रह उपयुक्त विकल्प हो भन्ने धारणा राखेको बताए ।