बेलबारी बोयरकाण्डका ठेकेदार भन्छन् :मेयरले ४० लाख घुष मागे


बेलबारी नगरपालिकामा बोयर बोकापाठी खरिदका क्रममा मेयर र प्रमुख प्रसासकिय अधिकृतले नै कमीसन छुट्याउन दवाव दिएको ठेकेदार समुहका प्रतिनिधिले दावी गरेका छन् । बोयर बोकापाठी खरिद विषयमा छानविन गर्न बेलबारी नगरपालिकाले गठन गरेको छानविन समितिलाई ति प्रतिनिधिले पठाएको पत्रमा त्यस्तो दावी गरिएको छ । बोयर बोकापाठी खरिदबारे छानविन गर्न गठित छानविन समितिले गत असार ३० गते ठेकेदार समुहमा ४ जनालाई पत्र पठाएर उपस्थित हुन भनेको थियो । समितिले सो समुहका श्याम पाण्डे,सुदिपकुमार चौधरी,विजय तामाङ र गोविन्दकुमार रायलाई बोयर खरिदबारे जानकारी लिने उदेश्यले पत्र पठाएको थियो । ४ जना मध्ये २ जनाले समितिलाई लिखित रुपमा प्रतिउत्तर पठाएका हुन् । उनीहरुले पठाएको पत्र प्राप्त भएको छानविन समितिकी संयोजक विन्दुकला गुरुङले जानकारी दिनुभएको छ ।
बोयर बोकापाठी खरिद प्रकृयामा प्रमुख भुमिका निर्वाह गरेका र रकम समेत लगानी गरेका भनिएका विजय तामाङले मेयर ज्ञानेन्द्र सु्वेदीले आफुलाई ३० लाख र प्रमुख प्रसासकिय अधिकृत प्रदिपकुमार शाहलाई १० लाख रुपैया रकम दिन दवाव दिएको दावी गरेका छन् । उता ठेकेदार समुहकै प्रमुख व्य्िरक्तको रुपमा देखिएका श्याम पाण्डेले मेयर सुवेदी र प्रसासकिय अधिकृत शाहले आफु बच्न अरुको नाम प्रचार गरेको दावी गरेका छन् । आफु जोगिने उद्देश्यले पाण्डेको बदनाम गराउन मेयर सुवेदी र प्रसासकिय अधिकृत शाहले समाचार लेखाएको समेत पाण्डेले आरोप लगाएका छन् ।
बेलबारी बोयर काण्डका विषयमा ठेकेदार कम्पनी ग्रो अर्गानिक कृषि प्रा.लि.का प्रतिनिधि भनेर सबैभन्दा अघि चर्चामा आएका पाण्डेले अहिले आफु सो कम्पनीमा संलग्न नरेहको दावी मात्रै गरेका छैनन् ,बोयर खरिद प्रकृयामा आफ्नो संलग्नता प्रमाणित गर्न नगरपालिकालाई चुनौती समेत दिएका छन् । श्याम पाण्डे ती व्यक्ति हुन जसलाई बेलबारी नगरपालिका आफैले बोयर बोकापाठी ल्याउनका लागि नगरपालिकाको प्रतिनिधि तोेकेर समेत पठाएको थियो ।
अर्कातिर बोयर काण्डबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रश्न उठ्न थालेपछि पाण्डे आफैले अष्ट्रेलियाबाटै बोयर ल्याएको प्रमाणित गर्ने दावी समेत गरेका थिए । तर,त्यो दावी पुरा गर्न नसकेसँगै उनको पनि बोली फेरिएको छ ।
बोयर काण्डकै एक पात्रका रुपमा रहेका विजय तामाङले भने नवलपरासीको केशर एग्रो फर्मबाट बोयर खरिद गरेको रकम भुक्तानीका लागि आफ्नो साथीको कम्पनीको बैंकको चेक दिएको दावी गरेका छन् । पाण्डे र तामाङ दुवैजनाले बेलबारी नगरले गत जेष्ठ १५ गते किसानलाई बोयर बोकापाठी वितरण गर्दा आफुहरु पनि उपस्थित रहेको स्विकार गरेका छन् । दुवैजनाले बेलबारी नगरपालिका र उनीहरुकै समुहका सुदिपकुमार चौधरीलाई दोषी देखाउने प्रयास समेत गरेका छन् । बोकापाठी ल्याइसकेपछि रकम भुक्तानीको कुराका गर्न जेष्ठ १५ गतेकै बेलुकी मेयर सुवेदीको घरमै पुगेपनि मेयर सुवेदीले कमीसन रकम मागेको र पाएपछि मात्रै बोकापाठी खरिदबापतको भुक्तानी गर्ने बताएको तामाङले पत्रमा उल्लेख गरेका छन् । पत्रमा तामाङले भनेका छन् ‘जेष्ठ १५ गते साँझ ७.३० बजे मेयर सुवेदीको घरमा गै विल भुक्तानीको विषय उठान गर्दा मेयर ज्ञानेन्द्र सुवेदीले हामी (सुदिपकुमार चौधरी र म)सँग मेरो लागी अग्रिम ३० लाख र प्रमुख कार्यकारी अधिकृत प्रदिप शाहको लागि १० लाख दिए मात्रै भुक्तानी गरिन्छ । अन्यथा भुक्तानी गरिदैन भनी लेनदेन गर्न खोज्नुभएको थियो ।’ भुक्तानीका लागि आफ्नै समुहका सुदिपकुमार चौधरीसँग मेयरको घर गएको बताएका तामाङले १६ गते भने आफु काठमाण्डौ गएको उल्लेख गरेका छन् ।
तामाङका अनुसार काठमाण्डौ रहेकैबेला जेष्ठ २१ गते बेलबारीबाट सुदिप चौधरीले फोन गरी आफुहरुको कुरा मिलिसकेको र स्वस्तिक कृषि फर्मको बिल लिएर रकम भुक्तानी लिन आउन भनेका थिए । त्यसैदिन साँझ ८ बजे आफु मेयर सुवेदीको घरमा आइपुगेको तामाङले उल्लेख गरेका छन् । कृषि फार्मको बिल दिन खोज्दा मेयर सुवेदीले बिल भोली उदयपुरमा हेरिने भनेर थर्काउने शैलीमा प्रस्तुत भएको तामाङको दावी छ । तामाङले मेयर सुवेदी र सुदिप चौधरी त्योबेलामा मदिरामा लटठ भएको समेत पत्रमा दावी गरेकाछन् ।


मेयर सुवेदीले उदयपुरमा बिल हेर्ने भने अनुसार नै जेष्ठ २२ गते मेयर सुवेदी,सुदिप चौधरी लगायतसँग आफु उदयपुरको त्रियुगा नगरपालिका गएको र त्यहाँ त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले स्वागत गरेको पनि तामाङले बताएका छन् । तर, त्रियुगाका मेयर चौधरीले त्यहाँ पुग्नु अघिनै असम्बन्धित मान्छेहरुको समेत नाम उल्लेख गरिएको पत्र ड्राफ्ट गरेको र त्यसमा आफुलाई हस्ताक्षर गर्न दवाव दिएको तामाङले उल्लेख गरेका छन् । उनले पत्रमा भनेका छन् ‘असम्बन्धित मान्छेको नाम उल्लेख भएकाले मैले हस्ताक्षर गर्न मानिन । त्यसपछि भुक्तानीका लागि मेयर ज्ञानेन्द्र सु्वेदी,त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी,सुदीपकुमार चौधरीले अवरोध खडा गरे । सो गतिविधिदेखि म दिक्क् भई त्रियुगा नगरपालिकास्थित हिमाल होटलबाट सोझै काठमाण्डौ लागेँ ।’
होटेलबाट निस्कने बेलामा त्रियुगाका मेयर चौधरीले धम्की दिएको भन्दै तामाङले शान्तिसुरक्षाको पहल गरिदिन माग समेत गरेका छन् । उनले भनेका छन् ‘म हिमालय होटलबाट निस्कने बेलामा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले धम्कीपुर्ण भाषामा,यो बाख्राको पैसा मागिस भने र बेलबारीका मेयर सुवेदीलाई बाख्राको कुरा गरिस भने तँलाई बाँच्न गाह्रो हुन्छ भनी धम्की दिएका थिए ।’
तामाङले बोयर खरिद विषयमा मेयर सुवेदीले ४० लाख रुपैयाँ अग्रिम माग गरेको र सो नदिएकै कारण आफुहरुको भुक्तानी रोकिएको समेत दावी गरेका छन् । यसरी घुष माग्ने मेयर सुवेदी,यस कार्यमा सघाउने र धम्की दिने त्रियुगाका मेयर चौधरी र सुदिपकुमार चौधरीलाई समेत छानविन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने तामाङले माग गरेका छन् । तामाङले छाानविन समितिलाई लेखेको सो पत्रको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीलाई बोधार्थ समेत दिएका छन् ।