एमालेले बनायो ‘आइटी आर्मी’

सरकारबाट हालै बाहिरिएको नेकपा एमालेले ‘आइटी आर्मी’ नामक संगठन बनाएको छ । सामाजिक सञ्जाललाई लक्षित गर्दै एमालेले मंगलबार चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय संगठन निर्माणका साथै तिनै तहमा सङ्गठन निर्माण गर्ने गरी आईटी आर्मी घोषणा गरिएको हो ।
नेकपा(एमाले)मा गएका पूर्व माओवादी नेताहरूले श्रमजीवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि र विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने भन्दै आईटी आर्मी गठन गरेको जनाइएको छ ।
लामो समय माओवादीमा रहेर पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी र प्रभु साहले ‘आइटी आर्मी’ गठनको औचित्य प्रस्ट्याउने क्रममा आईटी आर्मीले समाजको विकृति, विसङ्गति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरता विरुद्ध सङ्घर्ष गर्ने, समाजमा विद्यमान विभेद, शोषण, दमन तथा उत्पीडन रोक्न सक्रिय रहने, देश–दुनियाँमा भइरहेको सुशासन, सदाचार, विकास र समृद्धिसँग सम्बन्धित सकारात्मक कार्यहरूको प्रचार प्रसार गर्ने, खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणको लागि हुने गतिविधिहरूमा सहभागी भई सहयोग गर्ने लगायतको काम गर्ने बताएका छन ।