आठपहरिया राई जातिको वडाङ्मी चाड शुरु

धनकुटाः धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्मी शुरु भएको छ । मंसिरे पूर्णिमाबाट शुरु भएर औंसीसम्म यो चाड चल्ने गर्दछ ।

आठपहरिया जातिको तीन चाडमध्ये यो महत्वपूर्ण चाड हो । यो चाडमा दुःखबाट उक्सिने र घरको जेठो छोरो जन्मिएकोमा हर्कबढाइँ गर्ने चलन छ । वर्षभर गुमाएका आफन्तको जुठोबाट उक्सने यो एक मात्र चाड हो ।

चाडको शुरुवातमा धनकुटाबाट हिँड्दै दुई दिन लगाएर सुनसरीको वराहक्षेत्र पुग्दछन् । स्थानीय कोकाहा खोलामा कपाल र दारी खौरिएर नुहाएर वराह भगवानको दर्शन गरी देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ ।

घर आएपछि दुःखको कर्म फुकाउने कार्य हुन्छ । जहाँ सेतो लुगा फुकाइन्छ । अनि दुःख अन्त्य गरी भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ । सो चाडको अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने गर्छन् ।