विभिन्न हातहतियार सहित ४ जना पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु नगरपालिका–११ जहदी चोकबाट ’मेड इन युएसए’ लेखिएको लोडेड पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्ड सहित सोही ठाउँ बस्ने ३६ वर्षीय मन्नु यादव भन्ने माथेश्वर प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । युपि ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक यादवलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।