सामाजिक सुरक्षा भत्ता चोरीको आरोपमा वडा सचिव पक्राउ

सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।
बझाङको बुुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम सचिव र प्राविधिक सहायकले चोरी गरेको अभियोग लागेपछि उनीहरुलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।
उनीहरुविरुद्ध अपराधिक लाभ र विश्वास घातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिएको डीएसपी खड्काले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकबाट झिकेर वडा सचिव महतोको कोठामा राखेको अवस्थामा रकम चोरी गरिएको भन्दै वडा नम्बर ११ का अध्यक्ष रामबहादुर बोहराले जाहेरी दिएका थिए । उक्त रकम असार २९ गते महतोको कोठाबाट हराएको जानकारी आएको प्रहरीले जनाएको छ ।