टोकियो ओलम्पिकः ओलम्पिक भिलेजभित्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि

टोकियो ओलम्पिकको सुरक्षित भनिएको ओलम्पिक भिलेजभित्रै कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । विदेशबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ ।
सङ्क्रमित व्यक्ति खेलाडी नभएको आयोजक कमिटीले जनाएको छ । आयोजकले कोरोना सङ्क्रमितको परिचय गोप्य राखेको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई छुट्टै आइसोलेशनमा राखिएको छ । टोकियो ओलम्पिक सुरु हुन केही दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना सङ्क्रमित भेटिएको हो । प्रतियोगिता आउँदो २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुँदैछ ।
कोरोना महामारीकै बीच प्रतियोगिता गर्न लागेको भन्दै टोकियो ओलम्पिक आयोजकको आलोचना भइरहेको छ । आयोजकले भने पूर्ण सुरक्षाका साथ प्रतियोगिता हुने दाबी गर्दै आएको छ ।