नोबेलमा कोभिड संक्रमितको निःशुल्क उपचार

मोरङको विराटनगरस्थित निजी क्षेत्रबाट सञ्चालित नोबेल अस्पतालले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।
पछिल्लो समय मुलुकभर संक्रमणको जोखिम बढेपछि उपचार गर्न नेपाल सरकारसँग सम्झौता भएकाले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय भएको अस्पतालका निर्देशक सुनिल शर्माले जानकारी दिए ।
यसअघि अस्पतालले क्षेत्र नं. ३ र क्षेत्र नं.६ मा कोरोना संक्रमण भए÷नभएको थाहा पाउन ७ सय ५० रूपैयाँमै पिसिआर परीक्षण गर्ने घोषणा गरिसकेको छ ।
यी निर्वाचन क्षेत्रका सर्वसाधरणलाई वैशाख मसान्तसम्म सहुलियत दरमा पिसिआर परीक्षण गर्ने भएको हो ।
अस्पतालले दुबै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पथरी–शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमा स्वाब संकलन सहित पिसिआर परीक्षण गरिरहेको छ । सरकारले अहिले पिसिआर परीक्षणको अधिकतम् शुल्क दुई हजार तोकेको छ । सरकारी प्रयोगशालामा परीक्षण शुल्क १ हजार रुपैयाँ लिने गरेको छ ।