सुन्दरहरैचामा नाम मात्रको सार्वजनिक शौचालय

सुन्दरहरैचा । प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले सुन्दरहरैंचा नगरपालिकाको सलकपुर तथा विराटचोकमा उद्घाटन गरेको सार्वजनिक शौचालयमा अहिले मान्छेको उपस्थिति न्यून रहेको छ ।

उद्घाटन गरेको केही महिना सार्वजनिक शौचालय प्रयोग गर्दा निशुल्क गरे पनि अहिले शुल्क लिन थाले पछि मानिसहरुको आउजाउ न्यून रहेको छ ।

सार्वजनिक शौचालय निर्माण समितिले अहिले उक्त सार्वजनिक शौचालयको सरसफाई गर्ने नाममा शुल्क लिदै आएको छ । केही महिना अगाडि निशुल्क गर्दा विराटचौक सलकपुर आसपासका सिटी सफारी चालक देखि अन्य यात्रुहरु प्रवेश गर्थे तर शुल्क लिन थालेपछि अहिले मान्छेको उपस्थिति न्यून रहेको छ ।

शौचालय रेखदेख गर्ने सुनिता मल्लिकका अनुसार अहिले दिनमा १०/१५ जना मात्र सार्वजनिक शौचालयलाई प्रयोग गर्ने गरेका छन । नगरमा अत्याधुनिक सार्वजनिक शौचालय हुदा हुँदै अहिले अस्थायी रुपमा बनाईएको सार्वजनिक शौचालय प्रयोग गर्नेको संख्या अझ नगरमा उच्च रहेको छ ।

नगर क्षेत्रका ८ वटा मुख्य शहरमा सार्वजनिक शौचालय निर्माण गर्ने भनिएता पनि नगरका ३ वटा मुख्य शहरमा मात्र अहिले सार्वजनिक शौचालय निर्माण भएका छन । ३ वटा मुख्य शहरमा बनाईएको सार्वजनिक शौचालय सलकपुर र विराटचौकको सार्वजनिक शौचालय प्रयोगमा आईसकेको छ भने खोर्सानेमा निर्माणधिन अवस्थामा अझै रहेको छ ।

यता अन्य शहरहरुमा कहाँ बनाउने भन्ने कुरा अझै अन्यौलमा रहेको छ । उक्त स्थानमा अझ सार्वजनिक शौचालय निर्माण गर्नका लागि उपयुक्त जग्गा भेटिरहेको छैन ।