विराटनगरमा ओलीको धम्की,आन्दोलन गर्ने चेतावनी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शनिबार विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहित सबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको धम्की दिनुभएको हो । प्रतिनिधिसभा विघटन सदर गराउन प्रधानमन्त्रीले संवैधानिक निकायमा ‘सेटिङ’ गरिरहेको आशंका अन्य दलहरुले गरिरहेको बेला ओलीले संसद पुनःर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गर्नुभयो ।

‘कुनै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ ओलीले भन्नुभयो । अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै उहाँले त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै ओलीले चुनाव वैशाखमै हुने दाबी गर्नुभयो । आफूले नेतृत्व गरेको नेकपाले चुनाबमा बहुमत ल्याउने उहाँको ठोकुवा छ ।

प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने भन्दै ओलीले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’ कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ छ ।