५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको आजको खेलमा धरान सिटि एकेडेमी बिजयी

पथरी,
मोरङको पथरिमा जारी ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबलको सोमबारको खेलमा धरान फुटबल क्लब बिजयी बनेको छ। फ्यान्स क्लब बिआरसि बेलडाँगीलाई ३-१ गोलले पराजित गर्दै धरान अघिल्लो चरण प्रवेश गरेको हो।
धरानले खेलको शुरुवाती ४ मिनेटमै प्रकाश बुढाथोकीको गोलको मद्दतबाट अग्रता लिएको थियो ।
त्यसको ३ मिनेट बित्न नपाउदै धरानका आमोस लिम्बुले गोल गर्दै खेल २-० को अन्तरमा पुर्‍याएका थिए ।
धरानका विवेक राईको कर्कर किकको सहयोगमा आमोशले हेड मार्फत दर्शनिय गोल गरेका गरेका थिए ।
बेलडाँगीका अजय राजबंशीले खेलको २७ औँ मिनेटमा हेडमार्फत टिमका लागि पहिलो गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन । यता खेलको ५७ औँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले पेनाल्टीमार्फत व्यक्तिगत दोश्रो गोल गर्दै टिमलाई सहज जित दिलाए।
खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्नबाट चुकेका थिए। सोमबारको खेलको मेन अफ द म्याच धरानका कप्तान प्रकाश बुढाथोकी घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत मंगलबारको खेल धरान फुटबल क्लब र बेलबारी फुटबल क्लब बिच हुनेछ।

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलिले ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ।
मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टर (YFC) को मुख्य आयोजनामा जारी प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगीतामा दुधे फुटबल क्लब झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक YFC को २ वटा टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर (ILC), अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबकाे सहयोग रहेको प्रतियोगीता संयोजक करन राईले बताउनु भयो।
प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन।