सुन्दरहरैचामा भारतिय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित सुकुना पुलमा आज शनिबार बिहान सवारी दुर्घटना भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार दुई जना घाइते भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरीको अनुसार भारतिय नम्बर प्लेटको ट्रकले बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बेलबारी नगरपालिका वडा नं ६ कसेनी बस्ने वर्ष २५ को तिर्थ कुमार राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही मोटरसाइकलमा पछाडी सवार बेलबारी नगरपालिका वडा नं ६ बस्ने वर्ष ३५ को डोल्मा राई र वर्ष ११ को सुनिमा राई घाइते भएका छन । घाइते दुवैको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार बिहान करिब १० बजेर २५ मिनेट जादा दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय बेलबारीले भारतिय नम्बर प्लेटको ट्रक र ट्रक चालक भारत बस्ने वर्ष ५८ को उमा शंकर सिंहलाई नियन्त्रणमा लिएको छ ।