माघे संक्रान्ती, मोरङमा मगर समुदायले मनायो नया बर्ष

आज माघ १ गते, नेपालीहरुको महान पर्व माघे संक्रान्ती देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। मगर समुदाय मोरङले आजको दिनलाई नयाँ वर्ष तथा राष्ट्रिय पर्वको रुपमा मनाएको छ ।
मगर समुदायको नयाँ वर्ष शार ल्हेसा ५०१५ तथा माघे संक्रान्ती राष्ट्रिय पर्वको अवसरमा मोरङ्गको पथरी शनिश्चरेमा पनि शुभकामना आदान-प्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मगर संघ, पथरी शनिश्चरेको आयोजनामा सम्पन्न कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरु- मारुनी, कौडा, हुर्रा लगायत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नगरका २ ज्येष्ठ नागरिकलाई सम्मानका साथै शुभकामना आदानप्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईले सम्पुर्ण नगरवासी लगायत देशविदेशमा रहेका नेपालीहरुमा माघे संक्रान्ती तथा शार ल्हेसा ५०१५ को शुभकामना व्यक्त गर्नु भयो।
सम्पुर्ण जातजातिको भेषभुषा, धर्म, संस्कृति भोलीको पुस्ताका लागि महत्वपूर्ण रहेकाले ती सबैको संरक्षण गर्नु आजको पुस्ताको दायित्व रहेको उल्लेख गर्दै नगर प्रमुख राईले यस किसिमका कार्यक्रमले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न मद्दत पुग्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा संविधान सभा सदस्य लाल बहादुर सुस्लिङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
पथरी शनिस्चरे नगरपालिकाका मेयरको हुर्रा नाच