सुन्दरहरैचामा दुर्घटना: घाइतेको झोलामा लागूऔषध भेटियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका ८ स्थित पुर्व पश्चिम लोकमार्गमा भएको दुर्घटनामा परि घाइते भएका व्यक्तीको झोलामा लागूऔषध भेटिएको छ ।

बुधबार दिउँसो पश्चिमतर्फ गइरहेको बा ५१ प १४२१ को मोटरसाइकल र सोही दिशातर्फ गइरहेको को २ त ५२९० नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक चितवनको भरतपुर उपमहानगरपालिका–१२ का ३१ वर्षीय पदम लिम्बू र पछाडि सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का २७ वर्षीय रामोश पौडेल घाइते भएका थिए । 

घाइतेले पछाडि भिरेको झोलामा कानुनद्धारा बर्जित लागुऔषध भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) ऋषिराज ढकालले जानकारी दिए । 

घाइतेमध्ये मोटरसाइकलको पछाडि बसेका रामोशले एउटा झोला भिरेका थिए । त्यही झोलाभित्र रहेको प्लाष्टिकमा प्याक गरेको अवस्थामा एक सय ५० एम्पुल लागुऔषध भेटिएको ढकालले बताए । 

रामोशले बोकेको झोला खानतलासी गर्दा लागुऔषध फेला परेको हो ।’ उनका अनुसार डाइजेपाम ५०, लुपिजेसिक ५०, एबोट ३० र एभिल २० गरेर एक सय ५० एम्पुल लागुऔषध बरामद भएको छ । 

प्रहरी निगरानीमा उपचार गराइएका दुवै घाइतेलाई उपचार ठिक भइसकेको भन्दै प्रतिष्ठानले डिस्चार्ज गरिसकेको छ । अस्पतालले डिस्चार्ज दिएपछि उनीहरुलाई नियन्त्रणमा लिँदै लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको इन्सपेक्टर ढकालले बताए । ढकालका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना लागुऔषधका सेवनकर्ता भएको खुलेको छ ।

प्रहरीका अनुसार बरामद भएको लागुऔषधको परिणाम ठूलै हो । धेरै परिणाममा लागुऔषध भेटिएपछि प्रहरीले उनीहरु कारोबारमा पनि संलग्न भएको हुनसक्ने आशंका गरेको छ ।

इन्सपेक्टर ढकालका अनुसार लागुऔषधको कारोबार र ओसारपसार हुनसक्ने सम्भावित स्थानलाई उच्च निगरानीमा राखेर कारबाही अघि बढाइएको र सवारी साधनमा पनि ओसारपसार हुने गरेको पाइएपछि राजमार्गमा सवारी चेकजाँचलाई तीव्र पारिएको छ ।