बेलबारी प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना

सुन्दरहरैचा । के तपाईं पुर्वमा यात्रा गर्दा ठगिनु भएको छ ? के तपाईंले यात्रा गर्दा सवारी साधनले बढी भाडा लिएको छ ? यदि छ भने ईलाका प्रहरी कार्यालय बेलबारीमा खबर गर्नुहोस ।

ईलाका प्रहरी कार्यालय बेलबारीले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए।

उनले भने ‘हामीले बेलबारी प्रहरीको कार्यक्षेत्र पर्ने सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा र बेलबारी नगरपालिकामा सञ्चालनमा ल्याएका छौं । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन।’

चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको प्रहरी निरिक्षक ढकालले बताए । उनले भने ‘हामीले सबै यातायात व्यवसायीहरुलाई आफ्नो सवारी साधनमा भाडादर राख्न पनि भनेका छौं । सहायता कक्षमा पनि भाडादर राखेका छौं। कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गर्छौं ।’

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी र नेपाल प्रहरी खटाईएको छ । दशैंका लागि भनेर विभिन्न स्थानमा यात्रा गर्ने नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको ईलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ ।

इन्द्रपुर जेसिजका अध्यक्ष गणेश प्रसाद भट्टराईले चाड पर्व नजिकिदै गर्दा समाजमा घट्न सक्ने घटनालाई मध्यनजर गरि प्रहरीले स्थापना गरेको यात्रु सहायता कक्षले नागरिकलाई राहत मिल्ने र यात्रुहरु ठगिन बाट जोगिन सक्ने बताए ।

चाडपर्वको बेलामा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको लायन्स क्लब अफ सुन्दरहरैचाका अध्यक्ष गोपाल ढकालले बताए ।