धार्मिक पर्यटनको विकास गर्न बाघझोडामा मन्दिर स्थापना गरिदै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा १० मा रहेको बाघझोडा सिमसार क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको विकास गर्न विभिन्न मन्दिरहरुको निर्माण गरिने भएको छ ।

पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको उक्त सिमसारमा विभिन्न देवीदेवताको मन्दिर निर्माण गरि धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानियहरु आफै लागेका छन ।

बाघझोडा सिमसार मन्दिरमा अहिले दुई वटा देवीदेवताको मन्दिर रहेको छ । अहिले उक्त क्षेत्रमा स्थानियहरु आफै लागेर नागको मन्दिर स्थापना गरेको मन्दिर निर्माण कार्यका संयोजक होमनाथ जमर कट्टेलले बताए ।

उक्त क्षेत्रमा दुई वटा मन्दिर रहेता पनि कुनै देवीदेवताको मुर्ती निर्माण गरिएको छैन । तसर्थ उक्त दुई मन्दिरमा मुर्ती निर्माण गर्न अन्य पक्षको ध्यानाकर्षण गराउनको लागि समेत स्थानिय आफै मिलेर नागको मुर्ती निर्माण गरेको संयोजक कट्टेलले बताए ।

उक्त क्षेत्रलाई धार्मिक रुपमा विकास गर्न सकिए धार्मिक तथा अन्य पर्यटकहरू भित्राउन सकिने कट्टेल बताउछन तर उक्त क्षेत्र विकासको लागि सम्बन्धित निकायले चासो दिनुपर्ने नागरिक एक्लैले गर्न नसकिने बताउछन । सोमबार स्थानियले पुजा पाठ गरि उक्त क्षेत्रमा नागको पुजा आरधना गरि नागको मुर्ती भित्राएका हुन ।