सुन्दरहरैचामा कोरोना: वडा नं. ४,५ र ६ सात दिनको लागि शिल

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ४,५ र ६ तीन वटा वडालाई सात दिनको लागि शिल गरिएको छ । वडा नं ४ को कार्यालयको प्रागणमा आइतबार बसेको सर्वपक्षीय भेलाले सुन्दरहरैचा नगरपालिकाको तीन वटा वडा ४,५ र ६ लाई शिल गर्ने निर्णय गरेको हो ।

भेलाले आज राती १२ बजे देखि लागू हुने गरि भदौ १२ गते रातको १२ बजे सम्म शिल गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम दिन प्रतिदिन बढ्दै गईरहेको अवस्थामा भाइरस न्युनिकरणको लागि शिल गर्नु परेको सुन्दरहरैचा नगरपालिका वडा नं ५ का वडाध्यक्ष राम रिजालले बताए । कोरोना भाइरस न्युनिकरणमा सबै एक हुनुपर्ने बताउदै रिजालले नगरको तीन वटा वडा अत्यन्तै जोखिममा रहेको बताउदै सबै वडा बासीलाई आफै सुरक्षित हुन आग्रह गरेका छन । उनले सबै वडाबासी घर भित्र नै बसी वडाले गरेको निर्णयको पालना गर्न समेत आग्रह गरेका छन ।

कोभिड १९ को जोखिम दिनप्रतिदिन सुन्दरहरैचा नगरपालिका वडा नं ४,५ र ६ मा संक्रमितको संख्या बढ्दै जादा समुदायमा लकडाउनको महत्व नबुझी अनावश्यक हिडडुल गरेको कारण तीन वटा वडा शिल नै गर्नुपरेको सुन्दरहरैचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । उनले वडाबासी सचेत भई घर भित्रै बसिदिन समेत आग्रह गरेका छन ।

नगरमा सम्भावित जोखिमलाई न्युनिकरण गर्न तीन वटा वडालाई शिल गरेको सुन्दरहरैचा नगरपालिका वडा नं ६ का वडाध्यक्ष जिवन राईले बताए । दूध , औषधीपसल बाहेक सम्पुर्ण किराना पसल, फलफुल समेतलाई सात दिनको लागि बन्द गर्ने निर्णय गर्दै पुर्वपश्चिम लोकमार्ग बाहेक अन्य सडकहरुमा अनावश्यक काममा यात्रा गर्न समेत निषेध गरिएको वडाध्यक्ष राईले बताए ।