बेलबारीमा कोरोना संक्रमित राख्न आइसोलेसन निर्माण सुरु : २ दिनभित्रमा तयार हुने


कोभिड उपचार केन्द्रमा संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि बेलबारी नगरपालिकाले आफै आइसोलेसन स्थापना गर्न प्रकृया सुरु गरेको छ । बेलबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आइसोलेसन स्थापना गरिने भएको हो ।
सोमबार बेलबारीका थप १० जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई राख्ने आइसोलेसन अभाव भएपछि नगरले पहल थालेको हो । उनीहरुलाई अहिले घरमै राखिएको छ । मंगलबार कोरोना रोग रोकथाम सर्वदलिय नगर समन्वय समितिको बैठकले नगरभित्रै आइसोलेसन निर्माण गर्ने निर्णय गरेको उपमेयर ढाका पराजुलीले जानकारी दिनुभएको छ । बेलाबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आइसोलेसन स्थापना गर्ने भनेर पहल अघि बढाएपनि स्थानिय उपभोक्ताहरुले असहज महसुस गरेकाले त्यसको समन्वयका लागि मंगलबार साँझसम्म छलफल समेत भएको थियो ।
छलफल पश्चात आवश्यक भौतिक पुर्वाधार तयार गर्दै आइसोलेसन स्थापना गर्ने निर्णय भएको वडानम्बर २ का वडाध्यक्ष घनश्याम गौतमले जानकारी दिनुभएको छ । कोरोना रोकथाम सर्वदलिय समन्वय समिति वडा नम्बर २ का संयोजक समेत रहनुभएका गौतमले वन समित,टोलविकास संस्थाका प्रतिनिधि लगायतसँगको छलफल पछि आइसोलेसन निर्माण गर्ने सहमतिका साथ काम अघि बढेको जानकारी दिनुभएको हो ।
भवनमा पंखा जडान गर्ने, खानेपानी तथा शौचालयको समेत उचित प्रवन्ध गर्नुपर्ने भएकाले ढिलोमा २ दिनभित्रमा आइसोलेसन तयार गरिने समेत गौतमले जानकारी दिनुभएको छ । अस्थाई प्रकृतिकै भएपनि छुट्टा छ्ट्टै शौचालय निर्माण गर्ने,गर्मीमा बसाई सहजताका लागि पनि पंखा लगायतको उचित प्रबन्ध गर्नुपर्ने भएकाले जतीसक्दो चाँडो सक्ने गरी काम सुरु भएको गौतमले जानकारी दिनुभएको छ ।