सुन्दरहरैंचामा क्रियापुत्री बसेकाहरु माथि मध्यरातमा आक्रमण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–५ लाटिझोडामा क्रियापुत्री बसेकाहरुमाथि आक्रमण भएको छ । स्थानीय ६ जना युवाहरुको समूहले क्रियापूत्री बसेकै घरमा पुगेर कुटपिट गरेका हुन् । श्रावण २५ गते रातिको समयमा क्रियापूत्री रुग्ने निहु गरि मदिरा सेवान गरेर तास खेल्न पुगेका स्थानीय ६ जना युवाको समूहले राति १२ बजे तिर क्रिया पूत्रि बसिरहेकी खड्गकुमार अधिकारी र टेकनाथ अधिकारीमाथि आक्रमण गरेका हुन् ।

मरिमराउ भएको घरमा आएका भाञ्जा पर्ने इटहरीका सुरज आचार्यलाई कुटपिट गरिरहेको देखेपछि कुटपिट नगर्न भन्दै गर्दा क्रियापूत्री बसेका खड्गकुमारी र टेकनाथ माथि नै आक्रमण गरेको पाइएको छ । राति साढे १२ बजेतिर क्रियापूत्री रुंग्न आएका अन्य छिमेकीहरु फर्किसकेको अवस्थामा सुरुमा भाञ्जा साइनो पर्ने सुरज आचार्यलाई कुनै कारण विना नै एक्कासी आक्रमण गरेको र केही बेरमा थाहा पाएर रोक्न खोज्दा क्रियापूत्री बसेकाहरु माथि नै दाउरा तथा कुर्सीले आक्रमण गरेको प्रत्यक्षदर्शी लक्ष्मीप्रसाद सुवेदीले बताए । भान्जा साइनो पर्ने सुरज आचार्यले बाटोमा राखेको मोटरसाइकल थन्क्याउन लाग्दा ती युवाहरुले इटहरीबाट लुट्न आएको भन्दै सुरज लगायतलाई आक्रमण गरेको पीडित खड्गकुमारी अधिकारीले बताईन ।

कुटपिटबाट घाइते भएका सुरज आचार्यको हाल विराटनगर स्थित एक अस्पतालमा उपचार भइरहेको छ । यस्तै कुटपिट बाट खड्गकुमारीको आँखाको डिलमा चोट लागेको छ भने टेकनाथको टाउकोमा चोट लागेको छ । कुटपिटमा संलग्नहरु स्थानीय रामबहादुर तामाङ, दोर्जे मगर, विशाल राई, दिपेन राई, भाइसन तामाङ, विशाल शाक्य लगायत ६ जना रहेको पीडित टेकनाथले बताए । उनीहरुले कुटपिट गरेपछि समेत आफुलाई मार्ने भन्दै धम्की दिएर हिंडेको उनको भनाइ छ । पीडित परिवारले आफुहरुले गछिया प्रहरी चौकीमा उजूरी दिएको बताउदै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

यता इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको जानकारी दिएका छन । उनले क्रियापुत्री बसेकाहरु माथि आक्रमण हुनु निन्दनिय रहेको भन्दै दोषिलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गरिने बताए । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामप्रसाद रिजालले कोरामा बसेको अवस्थामा कोही कसैलाई छुन नहुने हिन्दु संस्कार रहेको जान्दा जान्दै छुन समेत नहुने अवस्थामा क्रियापुत्रीमाथि आक्रमण हुनु निकै निन्दनिय घटना भएको बताउँदै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन ।

स्थानीयबासीले कुटपिटमा संलग्नहरु यसअघि पनि विभिन्न अपराधिक घटनमा संलग्नहरु रहेको बताएका छन् । यस अघि पनि समय समयमा विभिन्न कुटपिटका घटनामा संलग्न हुने गरेकाले गाउँबासीहरु नै उनीहरुको त्रासमा रहेको स्थानीय हिरालाल श्रेष्ठले गुनासो गरे । प्रहरी प्रशासनले समेत लैजाँदै छोड्ने गरेको भन्दै उहाँले ती युवाहरुको समूहले कुन बेला कसलाई आक्रमण गर्ने हुन् भन्ने त्रास रहेको बताएका छन । सुन्दरहरैंचा ५ लाटिझोडाका स्थानीय समाजसेवी श्रीलाल अधिकारीको गत श्रावण २१ गते निधन भएपछि कोरामा बसिरहेका उनका कान्छा छोरा र माहिली बुहरीमाथि सातौं दिन राति कुटपिट भएको हो ।