गछियामा रक्तदान कार्यक्रममा ७७ प्रिन्ट रगत संकलन

सुन्दरहरैचा । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले लगायएको लकडाउनका कारण रक्तदान कार्यहरु हुन छोडेपछि पुर्व क्षेत्रमा मानव उपचारका लागि आवश्यक रगत अभाव हुन थालेको तर्फ मध्यनजर गर्दै मोरङको सुन्दरहरैचा गछियामा विभिन्न संघ सस्थाले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रमहरु हुन छोडेपछि अस्पतालहरुमा उपचारका लागि आउने रगत आवश्यक पर्ने विरामीहरुको ज्यान गुमाउनु नपरोस भनेर सुन्दरदुलारी उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाहरुले संयुक्त रक्तदान कार्यक्रम आयोजना गरेका हुन ।

सुन्दरहरैचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका लायन्स क्लव अफ सुन्दरदुलारी , गछिया जेसिज , स्वास्थ्य चौकी गछियाले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जना महिला पुरुषले रक्तदान गरका थिए ।

कोरोना भाइरसको संत्रास फैलि रहेको समयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनको समयमा भेला भएर औपचारिक कार्यक्रम आयोजना गर्न नपाउने भएका कारण पनि रक्तदान कार्यक्रमहरु हुन छोडेकोले मानविय स्वास्थ्यका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले जानकारी दिए ।

त्यसै गरी रक्तदान कार्यक्रमहरु लकडाउनको समयमा न्युन मात्रमा भएको कारण विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा रहेको नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रमा रगत अभाव भएको जानकारी पाएपछि सामाजिक संघसंस्थाहरुको पहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको गछिया जेजिसका अध्यक्ष मनोज रेग्मीले वताए ।

मानव स्वास्थ्यका साथै अन्य सामाजिक कार्यमा वडाले सक्दो सहयोग गर्ने सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष जीवन ढुगंनाले प्रतिवद्धता जनाए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।