पथरी / कुनै पनि सामाजिक संस्थाको आफ्नै एउटा घर भवन हुनु भनेको त्यो संस्थासँग जोडिएका सदस्यहरूका लागि एउटा बलियो ओत र गौरवको विषय हो। संस्थाको त्यहीँ बैठक बसोस्, त्यहीँ दिदीबहिनीहरू भेला भएर सुख-दुःख साटासाट गरून् र त्यहीँभित्र क्षमता विकासका कुराकानी हुन् भन्ने चाहना हुनु स्वाभाविक पनि हो। तर, मोरङको पथरीशनिश्चरेस्थित सहनशील महिला समाजको हकमा भने एउटा यस्तो दृश्य सार्वजनिक भएको छ, जसले स्थानीय स्तरमा निकै गम्भीर प्रश्न र बहसको सिर्जना गरिदिएको छ।

संस्थाले हालै मात्र महिलाहरूको क्षमता र आत्मविश्वास बढाउनका लागि “२ दिवसीय नेतृत्व तथा उद्घोष तालिम” सम्पन्न गर्यो। नेतृत्व विकासको कुरा गरिरहँदा, संस्था आफैँले आफ्नो घरको नेतृत्व र व्यवस्थापन कसरी गरिरहेको छ भन्ने कुरा भने ओझेलमा परेको देखिन्छ। मंगलबार उत्साहका साथ तालिम सम्पन्न पछि सहभागीले ब्यानर बोकेर फोटो खिचाए तर फोटोको पृष्ठभूमि सहनशील महिला समाजको आफ्नै भवनको नभइ स्थानीय जेष्ठ नागरिक भवनको थियो । आफ्नै स्रोत र साधनले ठडिएको संस्थाको आफ्नै भवन हुँदाहुँदै स्थानिय सहभागीहरु एउटा तालिमका लागि अर्काको दैलो र आँगनमा पुग्नुपर्ने अवस्था किन आयो? यो प्रश्नले अहिले पथरीशनिश्चरेका सरोकारवालाहरूलाई निकै पिरोलेको छ। ”जब संस्थाको आफ्नै भवन सुरक्षित छ भने, अर्को संस्थामा कार्यक्र्म किन गर्नु परेको हो?” स्थानियबासिले प्रश्न गरे ।
आफ्नो भवन हुदा हुँदै संस्थाले अरुकै भवन भाडा लिएर कार्यक्र्म किन गर्नु पर्यो त यसको कारण खोज्दै जाँदा अर्को एउटा निकै अचम्मको तथ्य फेला पर्दछ । सो भवनमा एक निजी व्यावसायिक मिडियाको ठुलो बोर्ड झुण्ड्याइएको छ— “समाज रूपान्तरण मिडिया हाउस प्रा.ली. द्वारा संचालित समाज रूपान्तरण टेलिभिजनको सम्पर्क कार्यालय”।
संस्थाको आफ्नै सम्पत्ति र भवन, जहाँ महिलाहरूका हक-हितका गतिविधि हुनुपर्ने थियो, त्यो ठाउँ आज एउटा मिडिया संस्थाको सम्पर्क कार्यालयका रूपमा प्रयोग भइरहेको छ। मिडिया कार्यालय मात्र नभइ आबसिय रुपमा मिडिया संन्चालकले प्रयोग गरिरहेका छ्न ।
कुनै पनि सामाजिक संस्था व्यक्तिविशेषको इच्छामा भन्दा पनि विधि, विधान र सामूहिक निर्णय प्रक्रियाबाट चल्नुपर्छ। भवन जस्तो स्थायी सम्पत्तिको व्यवस्थापन र उपयोग कसरी भइरहेको छ, यसबाट संस्थालाई के फाइदा पुगेको छ, वा यो कसको निर्णयले भएको हो भन्ने कुरा आम नागरिक र संस्थाका साधारण सदस्यहरूले बुझ्न पाउनु उनीहरूको अधिकार हो।
यो विषय केवल एउटा भवनको प्रयोगसँग मात्र जोडिएको छैन, यो त संस्थाभित्रको पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनसँग जोडिएको विषय हो। अहिलेसम्म जे जस्तो भए पनि, अब स्थानीय बासिन्दा र सरोकारवालाहरूले यस विषयमा गम्भीर चासो देखाउन थालेका छन्। यसबारे संस्थाका नेतृत्वकर्ताहरूले समयमै स्पष्ट र पारदर्शी निर्णय लिनु आवश्यक देखिन्छ।