प्रेम केडि
पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका पछिल्ला वर्षहरूमा विकास र चहलपहलसँगै अर्को चुनौतीसँग जुधिरहेको छ—लागुऔषधको बढ्दो प्रभाव। बजार, विद्यालय, चोक–गल्ली र साथीभाइको घेराभित्रैबाट युवाहरू बिस्तारै कुलततर्फ तानिँदै गएको चिन्ता यहाँका अभिभावक, शिक्षक, प्रहरी र समाजसेवी सबैको साझा सरोकार बनेको छ। यही यथार्थको बीचमा दिपेश भट्टराईको जीवनकथा आशा र चेतावनी दुवै बनेर उभिएको छ।

वडा नं १ का दिपेशले १८ वर्षको उमेरमा साथीसंगतकै लहैलहैमा चुरोट सुरु गरे। रमाइलो, घुमफिर र साथीहरूको प्रभावले जाँड–रक्सी हुँदै लागुऔषधसम्म पुर्यायो। कक्षा १० मा पढ्दै गरेका उनको ध्यान पढाइबाट हटेर नशातर्फ मोडियो। घरबाट विद्यालय जाने भनेर निस्कने उनी बाटैबाट साथीसँग भेटिन्थे र दिनभर नशामै बित्थ्यो। बिस्तारै पढाइ बिग्रियो, घरमा शंका बढ्यो, सम्बन्ध चिसिँदै गयो। तर त्यतिबेला उनलाई यो दलदल कति गहिरो छ भन्ने आभास थिएन। लत बढ्दै जाँदा दिपेश पटक–पटक सुधारकेन्द्र पुगे—कहिले तीन महिना, कहिले एक महिना। सुधारको प्रयास हुन्थ्यो, फेरि पुरानै संगतले तान्थ्यो। परिवार निराश हुन्थ्यो, उनी आफैं पनि अपराधबोधमा डुब्थे। “लागुऔषधले मान्छेलाई आफ्नो नियन्त्रणबाट बाहिर निकालिदिन्छ,” उनी अहिले सम्झन्छन्, “त्यसले निर्णय गर्ने क्षमता खोस्छ, परिवारसँगको विश्वास तोड्छ, भविष्य अँध्यारो बनाउँछ।” अनेकौं उतारचढावपछि उनले अन्ततः आत्मसंकल्प गरे। उपचार, परामर्श र परिवारको साथले उनी तीन वर्षयता पूर्ण रूपमा कुलतबाट टाढा छन्। अहिले उनी यातायात व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर जीवन बाँचिरहेका छन् र आफ्नै अनुभव सुनाउँदै युवाहरूलाई सचेत गराउन सक्रिय छन् ।
दिपेशको कथा व्यक्तिगत मात्र होइन, सामुदायिक सन्देश पनि हो। इलाका प्रहरी कार्यालयको तथ्यांकले समस्याको आकार देखाउँछ—गत आर्थिक वर्षमा नगरभरिबाट लागुऔषधसम्बन्धी मुद्दामा ४० भन्दा बढी व्यक्तिविरुद्ध कारबाही भएको छ, जसमध्ये १ महिला र ३९ पुरुष छन्। अधिकांश प्रतिवादी युवा उमेर समूहका छन्। प्रहरीका अनुसार खुला सीमाना, सजिलै उपलब्ध हुने नशालु पदार्थ, बेरोजगारी, परिवारसँगको संवादको कमी र गलत संगत प्रमुख कारणका रूपमा देखिन्छन्।
विद्यालयहरू यस चुनौतीविरुद्ध पहिलो मोर्चामा उभिएका छन्। वडा नं २ स्थित रेडस्टार बोर्डिङ का निर्देशक टिएन तिम्सिनाका अनुसार विद्यार्थीलाई लागुऔषधबाट टाढा राख्न हरेक वर्ष उत्प्रेरणामूलक कार्यक्रम गरिन्छ। प्रतिष्ठित कलाकार, सामाजिक अभियन्ता र प्रेरणादायी व्यक्तित्वलाई विद्यालयमा बोलाई सकारात्मक सोचका लागि `मोटिभेसनलकार्यक्रम राखिन्छ ताकि बिद्यार्थीहरु सचेत बनून्। यस्तै, पञ्चायत माध्यमिक विद्यालय का प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी भन्छन्, “नगरपालिकाको सहकार्यमा बालदिवस र विशेष अवसरमा र्याली, अन्तरक्रिया र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। विद्यार्थी मात्र होइन, अभिभावकलाई पनि सहभागी गराउँदा प्रभाव बढ्छ।”
पुनर्स्थापनाको आधार पनि नगरमै विस्तार हुँदै गएको छ। वडा नं २ देविगञ्जमा रहेको लभ एण्ड केयर पुनर्स्थापना केन्द्र, वडा नं ९ पुलचोकको न्यू स्टेप पुनर्स्थापना केन्द्र र वडा नं ७ को सपोर्ट पुनर्स्थापना केन्द्र ले कुलतमा फसेकाहरुलाई उपचार, परामर्श र पुनर्सामाजीकरणको अवसर दिइरहेका छन्। सपोर्ट पुनर्स्थापना केन्द्रमा हाल २० जना छन्, जसमध्ये १४ जना पथरी शनिश्चरेकै बासिन्दा हुन्। केन्द्रका सञ्चालकहरूका अनुसार उपचार मात्र पर्याप्त हुँदैन; परिवारको साथ, नियमित परामर्श र समाजमा पुनःस्थापना महत्वपूर्ण हुन्छ। समस्या जटिल छ, तर आशा मरेको छैन। दिपेशजस्ता युवाको परिवर्तनले देखाउँछ—कुलतबाट फर्किन सकिन्छ। विद्यालयको निरन्तर प्रयास, प्रहरीको निगरानी, पुनर्स्थापना केन्द्रहरूको सेवा र समुदायको सहयोग एकसाथ आएमा लागुऔषधविरुद्धको लडाइँ प्रभावकारी बन्न सक्छ।
आज दिपेश युवासँगको भेटघाटमा आफ्नो कथा सुनाउँछन्। उनको एउटै आग्रह छ—“जिज्ञासा वा साथीसंगतका कारण सुरु गरेको बानीले जीवन बर्बाद पार्न सक्छ। सुरु नै नगर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।” पथरी शनिश्चरेका धेरै युवाका लागि उनको आवाज चेतावनी पनि बनेको छ, र आशाको किरण पनि। पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो नगरले लागुअौषध नियन्त्रणका लागि अधिक प्रयास गरेपनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउछन । हरेक बर्ष बिद्यालय र पुनर्स्थापना केन्द्रहरुसंगको सहकार्यमा लागुअौषध बिरुद्द बिविध कार्यक्रमहरु आयोजना गरिन्छ । इलाका प्रहरी कार्यालयसंग सहकार्य गरि अनुगमन त लागुअौषध सर्च अप्रेसन पनि चलाइन्छ । तर पनि लागुअौषध नियन्त्रण गर्न कठिनाऊ भइरहेको उपप्रमुख देवि माया काफ्लेको भनाइ छ ।
जनसमुदायस्तरबाट पनि लागुअौषध नियन्त्रणको प्रयास नभएका होइनन् । पथरीशनिश्चरे वडा नं १० का युवा सुमन कुरुङ्वाङ लगायतले २०/२५ जना युवाहरुको समुह बनाइ रात्रिकालिन समयमा समेत गस्ति गर्ने गरिरहेका छन् । लागुअौषध प्रयोगकर्ताको संख्या बढेपछि चोरिका घटना बढ्न थालेको कारण उक्त अभियान सुरु गरिएको उनिहरु बताउछन ।