पथरी / रेडस्टार माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित सम्पन्न भएको छ। शनिबार विद्यालयद्वारा दुई दिवसीय अभिभावक तथा वार्षिकोत्सव भव्यताका साथ भएको हो।

विद्यालयका प्रवन्ध निर्देशक/प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पूर्वी मोरङको शैक्षिक हबको रूपमा स्थापित रेडस्टार माविले नगरेकै शान र ईज्वत उच्च राख्दै शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभएको थियो। उहाँले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सावित यो विद्यालयले विभिन्न जातजाति र समुदायको सांस्कृतिक एवम् मौलिकता संरक्षण गरेको उल्लेख गर्नुभयो।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य क्रमश : राजु तिम्सिना, सुजन बास्तोला, विजय डाँगी, लगायतका
अभिभावक, शिक्षक तथा अतिथिहरूको विशेष उपस्थिति रहेको थियो। कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नृत्य, गीत, कविता, भाषण, नाटक, र्याम्प वाक, कथावाचन लगायतका विविध प्रस्तुति प्रस्तुत गरेका थिए। सोही क्रममा सत्र २०८० र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई कक्षा -४ देखि १२ सम्मको वार्षिक तथा शैक्षिक पुरस्कार पनि वितरण गरिएको थियो।
विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेर विद्यार्थीको प्रतिभा पहिचान , अभिभावक–विद्यालय सम्बन्ध सुदृढीकरण तथा शैक्षिक उपलब्धिको सम्मान गर्ने उद्देश्य राखेको जनाएको छ। सभ्य तथा भव्य कार्यक्रममा विद्यालयका प्रबन्धक निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्सिनाले विगत सात वर्षदेखि निरन्तर रूपमा संस्कार सहितको जीवन उपयोगी शिक्षा प्रदान गरेको आफ्नो शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सोही कार्यक्रममा लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश बाछानाले विद्यालयले अभिभावकहरूको मन जित्दै नगरमै अब्बल शैक्षिक गुणस्तर वृद्धि गर्न सफल रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य शिक्षक बसन्त मादेनले राखेका हुन्।
साथै, सोहि कार्यक्रममा विभिन्न तह र कक्षाका विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट शिक्षकको रूपमा अतिरिक्त क्रियाकलाप संयोजक सनम गजेमेर र उत्कृष्ट कर्मचारीको रूपमा सन्त कुमार लामालाई दोसल्ला ओडाएर नगद सहित सम्मानित गरिएको थियो।